उत्सव आचार्य

कञ्चनरूप, ६ भदौ । नेकपा(एमाले)का केन्द्रिय सदस्य तथा मधेश प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने बताउनुभएको छ ।

हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसर पारेर नेकपा(एमाले) सम्वद्द अखिल नेपाल महिला संघ सप्तकोसी नगर कमिटि सप्तरीको आयोजनामा शुक्रबार भएको “तिज तथा जितिया पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले सो कुरा बताउनुभएको हो ।

उहाँले सांस्कृतिक चाडपर्वले भावनात्मक एकता कायम रहने हुँदा मन्त्री लेखीले तीजलाई तडकभडक रहित बनाउनुपर्ने र आफ्नो मौलिकता झल्काउनुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री लेखीले भन्नुभयो “हाम्रो राष्ट्र धार्मिक, सांस्कृतिक रुपले सम्पन्न मुलुक हो , विभिन्न धर्मावलम्बिले अपनाएका सांस्कृतिक चाडपर्वहरुले हामी बिच भातृत्व र भावनात्मक एकता कायम गर्छ” ।

 मन्त्री लेखीले आगामी दिनहरुमा यस्ता कार्यक्रमहरु आयोजना गर्दा गहन रुपमा छलफल गरि बृहतरुपमा जनचेतनामुलक कार्यक्रम संचालन गर्न आयोजक कमिटिलाई सुझाव समेत दिनुभयो ।

अनेम संघ सप्तकोसी नगर कमिटि अध्यक्ष संगिता चौधरीको अध्यक्षतामा संचालन भएको शुभकामना कार्यक्रममा प्रदेश कमिटी सदस्य उत्तम गौतम,वसन्त कुमार मिश्र, सरिता चौधरी, सप्तकोसी वडा नम्बर २ का वडा अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य जाहुर हुसेन लगायतको उपस्थितिका बिच कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त अवसरमा सहभागी महिलाहरूले आफ्ना संस्कृति झल्कने भेष–भूषा सहित उपस्थित भई तीजको उल्लासमय नृत्य, गीतमा रमाइलो गरेका थिए । कार्यक्रमलाई रौनक बनाउन महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।

Facebook Comments Box